लेटेस्ट न्युज
advertisement1

आमाबुवाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

Maryada News 2021-02-22 10:00:30
आमाबुवाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

काभ्रेपलाञ्चोक- जिल्लाको बनेपा नगरपालिकाले नगरभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुवाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो।

बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिइन्। यो रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन उनले आग्रह गरेकी छन्। ‘भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ’, उनले भनिन् ‘अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ ।’ 

कार्यक्रममा वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताएकी छिन्।  प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उनले उल्लेख गरिन्।

‘आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ,’ उनले प्रश्न गरिन्, ‘आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला ?’ समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेख गर्दै उनले बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताइन्।

आमाबुबाविहीन बालक विजय खत्रीका संरक्षक (ठूलोबुबा) गोवद्र्धन खत्रीले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ढिला भएको गुनासो गरे। जनप्रतिनिधि चुनिएको लामो समय बितिसकेको अवस्थामा अहिले आएर यो कार्यक्रम ल्याइएको उनको भनाइ छ।

सो क्रममा १८ वर्षभन्दामुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ६ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट दुई र वडा नं १३ बाट दुई गरी १२ जनालाई जनही रु आठ हजारका दरले रकम वितरण गरेको थियो। 

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्