वीरगञ्ज :पर्साको वीरगञ्जबाट गत असार ३१ गते बेपत्ता भएका विराज शर्मा १० दिनसम्म पनि नभेटिएपछि परिवार चिन्तित बनेको छ । ३२ वर्षीय शर्मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचा निवासी हुन् । गत असार ३१ गते दिउँसो २ बजेदेखि घरबाटै बेपत्ता भएका शर्माको हालत अज्ञात भए पछि परिवार चिन्तित बनेका हुन् ।
सामान्य घर झगडाका कारण रिसाएर हिँडेका उनी कता पुगे १० दिन सम्म प्रहरीले पत्तो लगाउन सकेको छैन । आफन्त र नजिकका सम्भावित क्षेत्रमा खोजबिन गरेपनि कतै फेला पार्न नसकेको उनका दाई विशाल शर्माले मर्यादा न्युजलाई जानकारी दिए ।
सुरुमा बेपत्ता भएको निवेदन दर्ता भएपछि प्रहरीले कल डिटेल जाँच गरेपनि त्यसपछि खासै चाँसो दिएर खोजी नगरेको परिवारको भनाई छ । उनका दाजु विशालले खोजीका लागि हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, 'भारत नजिकै भएकाले त्यतातर्फ गएको हुन सक्नेबारे पनि खोजी गरिहेका छौैँ । तर भारतमा हाम्रो कोही चिनजान नभएकाले त्यतातर्फ गएको जानकारी पाउन गाह्रो भएको छ ।'
यस्तै पर्साका एसपी बेलबहादुर पाण्डेले बेपत्ता भएका शर्माको खोजीमा प्रहरी गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । प्रहरीले परिवारसँग सम्पर्क गरिरहेको जनाएको छ । उनले भने, 'उहाँका आफन्तहरुको दैनिक २०/२५ पटक फोन आइरहेको हुन्छ । हामीले नियमित जानकारी दिएकै छौँ । आजै पनि ४/५ जनासँग यही विषयमा भर्खरै हामीले छलफल गरेका छौैँ ।' बेपत्ता व्यक्तिले डिप्रेसनको औषधि सेवन गर्ने गरेको परिवारलाई उदृत गर्दै एसपी पाण्डेले बताए ।
'लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेको भन्ने आएको छ, केही समयदेखि औषधि सेवन गर्न छोडेको पनि परिवारले निवेदनमै उल्लेख छ ' एसपी पाण्डेले भने । यद्यपि पारिवारिक झगडाबारे भने प्रहरीलाई जानकारी नभएको एसपी पाण्डेले बताए । शर्मा परिवारले भने प्रहरीको विशेष सकृयता नभएकाले १० दिन बिती सक्दा पनि विराजको अत्तो पत्तो लाग्न नसकेको भन्दै प्रभावकारी ढंगले खोजबिनका लागि आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया