एजेन्सी- दक्षिण कोरिया सरकारले नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ।
विभिन्न प्रवेशाज्ञा (भिसा)मा त्यहाँ पुगेर काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहनेहरुका लागि यस्तो व्यवस्था गर्न लागेको हो।
विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने त्यहाँको न्याय मन्त्रालयलको तयारी छ।
प्रवेशाज्ञा थप हुनेमा एफ–१ (भ्रमण तथा पारिवारिक भिसा), एफ–३ (डिपेन्डेन्ट भिसा), एच–२ (भ्रमण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन्। यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ।
यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ । अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन्।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण कोरियामा करिब एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् ।
प्रतिक्रिया