धनुषाः प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल रू १९ अर्ब १९ करोड ८ लाख १८ हजार पुँजीगत बजेट विनियोजन गरेको थियो।
तीमध्ये चालू आर्थिक वर्षको ११ महिनामा सरकारले कूल रू ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ। यो कूल पुँजीगत खर्चको २९.८० प्रतिशत हो।
प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका अनुसार नियमित अर्थात् चालू खर्चतर्फ सरकारले रू १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार बजेट विनियोजन गरेकोमा सो अवधिमा रू ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ। यो कूल चालू खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोज कुमार झाले बताए।
कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ। मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ। मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ रू ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ रू ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ।
यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। सो अवधिमा चालूतर्फ रू ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ रू ११ करोड १४ लाख ८४ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रतिक्रिया