काठमाडौंः नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाज भाडामा दिइने भएकाे छ। प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो।
चिनियाँ जहाजबाट आर्थिक भार बेहोरिरहेको निगमले जहाज भाडामा लगाएर व्यवस्थापन गर्ने भएकाे हाे। ‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालिमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो।
निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी ६ चिनियाँ जहाज छ। चिनियाँ जहाजमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन्। एक बिग्रिएको छ। नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ।
निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो। साेही अनुरुप पाँच वटा विमानको लागि ‘लिजआउट’ गर्ने निगमको योजना बनाएकाे हाे।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ। प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिज आउट गर्ने बताइन्।
निगमलाई सरकारले लिज आउट नभएमा विक्रेता तथा उत्पादकसँगको समन्वयमा नेपाल सरकार र निगमलाई अधिकतम हित हुने गरी ती जहाज विक्रीको प्रक्रिया अघि बढाउनुपर्ने आदेश दिएकाे थियाे। हाल सरकारको व्यवस्थापनसम्बन्धी निर्णयले निगमलाई ठूलै राहत भएको निगमले उल्लेख गरेको छ। चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग आन्तरिक उडानका लागि अहिले मात्र दुई थान टुइनअटर जहाज छन्। निगमले देशका प्रमुख गन्तव्य र क्षेत्रीय उडानसमेत सञ्चालन गर्दै आएको छ।
निगमले अन्तराष्ट्रियतर्फ दुई वटा न्यारो बडी ए ३२० जहाज र दुई वटा वाइड बडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।
प्रतिक्रिया