लेटेस्ट न्युज
advertisement1

हुलाकी सडकको नवलपरासीमा खण्डमा पटक–पटक म्याद थप गर्दासमेत काम पूरा नहुँदा यात्रु र सडक छेउछाउका स्थानीयलाई समस्या

Maryada News 2025-04-19 09:53:16
हुलाकी सडकको नवलपरासीमा खण्डमा पटक–पटक म्याद थप गर्दासमेत काम पूरा नहुँदा यात्रु र सडक छेउछाउका स्थानीयलाई समस्या

नवलपरासी, नवलपरासीमा पटक–पटक म्याद थप गर्दा समेत हुलाकी सडकको काम पूरा नहुँदा यात्रु र सडक छेउछाउका स्थानीयलाई समस्या भएको छ ।

जिल्लामा तिन खण्डमा विभाजन गरेर हुलाकी सडक निर्माणको काम भइरहेको छ ।

दूरीको हिसाबले लामो नभए पनि ठेकेदारको लापरबाहीका कारण सडक विस्तारको काम पुरा हुन सकेको छैन ।

सडक जीर्ण हुँदा आउजाउमा समस्या भएपछि स्थानीय जनप्रतिनिधि समेत आन्दोलित भएका थिए ।

काम पूरा गर्ने सर्तमा आन्दोलन फिर्ता लिए पनि काम सुरु हुन सकेको छैन ।

तिन पटक म्याद थप गर्दा समेत बर्दघाटको नारायण चोक देखी पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणी सम्म जोड्ने १६ किलोमिटर सडकको निर्माण पूरा भएको छैन ।

२०७६ सालको मङ्सिरमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको हाल सम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति छ ।

ब्रजगुरु महालक्ष्मी जेभिले उक्त सडक विस्तारको लागी ४९ करोडमा ठेक्का पाएको थियो ।

तीन पटक सम्म दिइएको म्याद गत चैत्र २० गते सकिएको छ । तर, ठेकेदारले काम गर्ने छाँटकाँट देखाएको छैन ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका अनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यले विभाग सँगको छलफल अनुसार ठेक्का तोड्नु पर्ने राय सहितको पत्राचार सडक विभागमा पठाइएको जानकारी दिए ।

तर, विभागले लामो समय भइसक्दा समेत जवाफ दिएको छैन । पटक पटक ठेकेदार पक्षसँग छलफल गरेर काम सुरु गर्ने प्रयास भएपनि ठेकेदारले चासो दिएको छैन ।

“धेरै पटक ठेकेदार पक्षलाई बोलाएर छलफल गरे पनि काम अगाडि बढ्न सकेन ।

त्यसैले माथिल्लो निकायसँगको छलफलकै आधारमा ठेक्का तोड्ने निष्कर्षमा पुगेर प्रक्रिया सुरु भएको छ,” आचार्यले भने ।

सो सडक खण्ड अन्तरगत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सङ्घीय सरकारका सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गराउँदा समेत काम नभएको गुनासो गरे ।

“सडकको अवस्थाले स्थानीय जनप्रतिनिधिले गाली खानुपरेको छ, तर जति प्रयास गरे पनि काम अगाडि बढेन ।

स्थानीय तहलाई जिम्मा दिएको भए हामी बनाउन तयार थियौँ, यादवले भने । ” ठेकेदारसँग हुलाकी राजमार्ग निर्देशनालयका कर्मचारीहरूको मिलेमतो भएको यादवको आरोप छ ।

यादव यसअघि सडक निर्माणको माग गर्दे अनशन समेत बसेका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सङ्घीय सरकारको तालुक मन्त्रालयसँगको समन्वयमा काम सुरु गर्ने प्रतिबद्धता सहित यादवको अनशन तोडाएका थिए ।

यसै गरी हुलाकी सडक अन्तर्गत सदरमुकाम जोड्ने परासी नारायण चोक सडक खण्डको १२ किलोमिटर काम थालेको ८ वर्ष पुरा हुँदा समेत पूरा भएको छैन ।

२०७३ सालमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माण गर्न पटक पटक म्याद उपलब्ध गराइए पनि हाल सम्म ८० प्रतिशत मात्र काम पूरा भएको छ ।

गत असार मसान्तमै म्याद सकिएको भएपनि काम सक्न ठेकेदारलाई पटक पटक ताकेता गर्दे आएको योजना कार्यालयले जनाएको छ ।

तर, ठेकेदारले बाँकी काम गर्न चासो देखाएको छैन । सो सडक २५ करोडको लागतमा कञ्चनजङ्घा बिरुवा जेभी काठमाण्डौले निर्माणको जिम्मा लिएको हो ।

सो खण्डमा तिन किलोमिटर सडकको कालोपत्रे गुणस्तरीय नभएको भन्दै भत्काएर पुनः नयाँ कालोपत्रे गर्न भनिएको छ । साथै ठाँउठाँउमा फुटपाथ, नाला आदिको काम पनि पूरा भएको छैन ।

अर्को ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि ढिलासुस्ती छ ।

बजेट अभावमा काममा समस्या भएको इन्जिनियर आचार्यले बताए । उक्त सडक खण्डको भौतिक प्रगति ७४ प्रतिशत रहेको छ ।

म्याद समाप्त भएपनि असार मसान्त सम्म काम गरेर सक्न निर्देशन दिइएको उनले जानकारी दिए ।

बजेट अभावमा नियमित भुक्तानी गर्न नसक्दा काम पूरा गर्न समस्या भएको पनि योजना कार्यालय कपिलवस्तुको तर्क छ ।

गत वर्षकै दायित्व भुक्तानी १ अर्ब तिन करोड भएकोमा २४ करोडको मात्र अख्तियारी प्राप्त हुँदा काम गर्न कठिन भएको इन्जिनियर आचार्यले बताए ।

नवलपरासीमा ३६ किलोमिटर लामो हुलाकी सडक तिन खण्डमा विभाजन गरेर १ अर्बको लागतमा विस्तार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्