काठमाण्डू, आइसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तान खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल बिहान साढे ९ बजेदेखि सुरु हुने तालिका रहेको हो ।
यद्यपि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ ।
यदि वर्षाले खेल रद्द भएमा नेट रन रेटमा नेपालभन्दा माथि रहँदै अफगानिस्तानले आउँदो वर्ष हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ ।
अहिले अफगानिस्तान नेट रन रेट राम्रो भएकाले शीर्ष स्थानमा छ । नेपालले विश्वकपमा स्थान बनाउन अफगानिस्तानलाई हराउनैपर्ने समीकरण बनेको छ ।
नेपालले लगातार दोस्रो तथा समग्रमा नवौँपटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ ।
उता अफगानी टिम पनि विगतको सफलता पछ्याउँदै फेरि विश्वकपको टिकट सुरक्षित गर्ने दाउमा छ ।
सन् २०२४ को यू–१९ विश्वकपमा नेपालसँग पराजित भएको अफगानिस्तान यसपटक छनोट चरण खेल्न बाध्य भएको हो ।
जारी प्रतियोगिताअघि भएको अफगानिस्तानसँगको तीन खेलको शृंखला नेपालले १–२ को हार बेहोरेको थियो ।
पहिलो खेल सहजै गुमाए पनि दोस्रो म्याचमा नेपालले कडा टक्कर दियो ।
तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले अफगानिस्तानविरुद्ध ८५ रनको सानदार जीत निकाल्यो ।
त्यो लय कायम राख्दै नेपालले जारी विश्वकप छनोट प्रतियोगितामा लगातार तीन खेलमा जीत दर्ता गरेको छ ।
र, नेपाल चौथो खेलमा पनि अफगानिस्तानलाई हराउँदै ऐतिहासिक सफलता हात पार्ने सोचमा छ ।
हेड टु हेड
हालसम्म नेपाल र अफगानिस्तान १९ पटक आमनेसामने भइसकेका छन्, तीमध्ये अफगानिस्तानले १२ र नेपालले ७ खेलमा जीत दर्ता गरेको छ ।
शनिबार नेपाली टिमसामु हेड टु हेड रेकर्डमा सुधार गर्ने मौका पनि छ ।
सन् २००७ मा पहिलोपटक अफगानिस्तानलाई हराएको नेपालले सन् २०११ मा दुईपटक, सन् २०१८ मा एकपटक, सन् २०२४ मा दुईपटक र सन् २०२५ मा एकपटक जीत हात पारेको थियो ।
स्मरण रहोस्, सन् २०२४ मा अफगानिस्तानजस्तो बलियो टोलीविरुद्ध नेपालले दुईपटक रोमाञ्चक एक विकेटको जीत निकालेको थियो ।
उक्त जीत नेपालले यू–१९ विश्वकप र एसिया कपमामा हासिल गरेको हो ।
यी नतिजाहरूले देखाउँछ कि अफगानिस्तान जति बलियो भएपनि नेपालले दबाबमा उत्कृष्ट खेल प्रस्तुत गर्दै जीत निकाल्न सक्छ ।
शनिबारको निर्णायक भिडन्तमा पनि नेपाली टिमसामु त्यही हौसला पुनः दोहोर्याउने मौका छ ।
प्रतिक्रिया