काठमाडौं : लेखक नयनराज पाण्डेको नयाँ पुस्तक ‘जियरा’ सार्वजनिक भएको छ ।कोरोना महामारीका कारण जारी निषेधाज्ञामै बिना कुनै कार्यक्रम सोमबारदेखि पुस्तक बजारमा पठाइएको हो । उक्त सङ्ग्रहमा १३ वटा लामा कथा समावेश छन्। “जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,” लेखक पाण्डेले भने, “यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ।”
एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक, बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले ‘जियरा’लाई बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको लेखक पाण्डेले बताए । ‘जियरा’का कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ। यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए।
प्रतिक्रिया