लेटेस्ट न्युज
advertisement1

बाँदरमुढे घटनाः १६ वर्षपछि पनि पीडा उस्तै

Maryada News 2021-06-06 12:00:56
बाँदरमुढे घटनाः १६ वर्षपछि पनि पीडा उस्तै

चितवनः सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन्। तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए।

त्यसबेला घटनास्थलमा ३९ जनाको निधन भएको थियो भने उपचारका क्रममा थप तीन जनाको निधन भएको हो। मृतकमध्ये तीन जना नेपाली सेनामा कार्यरत रहेका थिए।

विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो। लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ।

माडी नगरपालिका–९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा परी उनकाे दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो। सानी छोरीको खुट्टामा चोट लागेको थियो। विकले भनिन्, “हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ।”

बाल्यकालमै घटनामा पीडित हुन पुगेकी सुस्मिता १० कक्षामा पढ्छिन्। दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनकाे गुनासो छ। बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउँछन्। 

सो घटनाकै कारण ६ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइँ छ। यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनले गुनासो गरे। गएको प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनकाे भनाइँ छ।

सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ। सोही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताएका थिए। दुवै खुट्टा र ढाड भाँचिएको थियो।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, एक परिवारलाई रू एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने बताए। नगरपालिकामा ६४ परिवारले पीडित भएको भन्दै नाम दर्ता गराएका छन्।

सो घटनाको सम्झनामा आज बिहान स्मृति दिवस मनाइएको छ। पीडित परिवारले घटनास्थलको स्मारकमा दीपप्रज्वलन गरेर मृतकको सम्झना गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्