रसुवाः जिल्लामा पहिलोपटक भेन्टिलेटर भित्रिएकाे छ। भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्री रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेका हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार आचार्यद्वारा मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रू १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ। हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिइने बताइएकाे छ।
शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पवित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट सहयोग प्रदान गरेको आचार्यले बताए। एउटा पनि भेन्टिलेटर व्यवस्थापन गर्न नसकिएको अवस्थामा आचार्यबाट प्रदान भएका भेन्टिलेटरले अब स्थानीयस्तरमै जटिल बिरामी उपचार गर्न सहज भएको रसुवा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा भुवन केसीले बताए।
रसुवामा भेन्टिलेटर नहुँदा जटिल बिरामीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पतालमा सिफारिश गर्नुपर्ने समस्या रहेकाे थियाे।
प्रतिक्रिया