पर्वत : आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् ।
अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।
“आइसियू र भेन्टिलेटर सञ्चालन गर्नका लागि अहिले हामीसँग उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने रहेछ । यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सको आवश्यकता हुने रहेछ”, उनले भने, “जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।”
यसअघि यसका लागि आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले विज्ञापन गरे पनि आवेदन नपरेका कारण परिपूर्ति गर्न नसकिएको अध्यक्ष पहाडीले बताए । यसका लागि प्रदेश सरकारले विशेष ऐन नै बनाएर दक्ष जनशक्ति पदपूर्ति गरिदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समेत माग गरिएको उनले जानकारीदिए ।
प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जनरल फिजियिसन र १२ एनेस्थेसियाका लागि विज्ञापन गरेको थियो । यसमा छनोट भएकालाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको रहेको थियो ।
जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा सङ्क्रमण दर बढिरहेको छ । स्वास्थ्य संस्थामा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको अस्पतालका डा ढुण्डिराज पौडेलले बताए। उनका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक पर्छ ।
जिल्लामा यस्तो जनशक्ति आउन मान्दैनन् । उनीहरुलाई कम्तीमा महिनामा रु तीन लाखभन्दा बढी तलब दिएर ल्याउन सक्ने हो भने मात्रे आइसियू र भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । बेसिक तलब रु ४५ हजार खाएर मात्र कोही आउन नमान्ने उनको भनाइ छ ।
प्रतिक्रिया