काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटन गर्नुपरेको दाबी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले अचानक निराधार र झुटा अभियोग छापेर देशभर वितरण गर्ने र सकेसम्म सत्ताबाट विस्तापित गर्ने प्रयास गरेपछि संसद विघटनको कदम चालेको बताएका हुन्।
आफू नेतृत्वको सरकारले तीन वर्ष पुरा गरेको अवसरमा सोमबार पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रेस ब्रिफिङ गर्दै उनले प्रतिनिधि सभा विघटन गर्नु अघि आफूले धेरै पटक सोचेँकोसमेत बताए।
उनले थपे, ‘मसंगको कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर मैले गत पुस ५ गते संसद विघटन हुनुभन्दा अघिसम्म (दिउँसो २ बजेसम्म) प्रयास गरेँ, तर सफल भइँन।’
सरकार गठनको एक हजार ९३ दिन पुरा भएको बताउँदै प्रधानमन्त्री ओलीले यसबीचमा पार्टीभित्रैबाट सार्वजनिक सेवा प्रवाहमा र विकासको गतिलाई अवरोध गर्ने प्रयास भएको आरोप लगाए।
‘‘६४ प्रतिशत सदस्यद्धारा सर्मथित मात्र होइन म र्निविरोध, र्निविवादित प्रधानमन्त्री हुँ, मेरा विरुद्ध संसदीय दलमा आलोचना टिप्पणी, विरोध केहि पनि छैन,’ उनले भने ‘पार्टीमा केहि व्यक्तिको गाइँगुइँ, आलोचना, लाञ्छना र अभियोगबाहेक अन्त केहि विरोध थिएन।’ ३६ प्रतिशतबाट वैकल्पिक सरकार गठनको सम्भावना नरहेको पनि उनको जिकिर छ।
उनले अहिले देश प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति तोकिएको विशेष अवस्थामा रहेको बताएका थिए। ‘जनादेशमार्फत आएका पात्र उपर्युक्त भएनन् अनि नयाँ जनादेशमा गएँ, सम्बोधनका क्रममा ओलीले भने, ‘स्थिर सरकार र पार्टी एकता कायम नरहने सम्भावनालाई जोगाउन यस्तो (प्रतिनिधिसभा विघटन)गरिएको हो।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले तीन बर्षको अवधिमा सरकारले गरेका कामहरुको लामै फेरिहस्त सुनाएका छन्।
ओलीले २०७४ साल फागुन ३ गते प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका थिए।
प्रतिक्रिया