काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा सत्यता नभएको बताएका छन् । गत माघ २८ मा राजधानीमा आयोजित प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनमा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलबाट दुई जना मन्त्री आफ्नो समूहमा फर्किने दाबी गरेका थिए ।
मन्त्री साहका अनुसार दाहालले नेकपामा विभाजन ल्याउन सो अभिव्यक्ति दिएका हुन् । उनी भन्छन्– ‘हाम्रो आधिकारिक नेकपामा विभाजन ल्याउने उनको चाहना हो । प्रचण्डले गफ दिएका हुन् ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा रहेका पूर्व एमाओवादीतर्फका दुई जना मन्त्री प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेकाले ती दुई जना फर्किन सक्ने बताएका थिए । तर ओली नेतृत्वको मन्त्रीमण्डलमा रहेका चारै जना मन्त्रीले सार्वजनिक रुपमा प्रचण्ड–माधव समूहमा नफर्किने बताइसकेका छन् ।
‘अस्थिरता र अराजकताको विरुद्धमा लडेर समृद्ध नेपाल बनाउन केपी ओलीको नेतृत्वमामात्र संभव छ । हामी यही सरकारमा रहेर चुनावको तयारी गर्नेछौं’, मन्त्री साहले भने ।
पूर्वमाओवादीवाट ओली सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री प्रभु साह सामेल छन् ।
प्रतिक्रिया