सर्लाहीः जिल्ला अस्पताल मलङ्गवामा जडान गरिएको पीसीआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ। जिल्लामा दिनमै पटक पटक विद्युत् अनियमित हुँदा पीसीआर मेसिन सञ्चालन हुन नसकेकाे हो।
ल्याबमा बुधबार राति ९४ जनाको स्वाब परीक्षण गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो। त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए।
अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन्। मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको स्वाब सङ्कलन भएको छ। बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।
जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयता शनिबारसम्म तीन सय ९० जनाको स्वाब सङ्कलन भएको छ। सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए। यस्तै चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताए।
यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए। एकपटक पीसीआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ।
प्रतिक्रिया