काठमाडौं : दसैँको पाँच दिने विदा सकिएसंगै आइतबार (आज)बाट सरकारी कार्यालयहरु खुलेका छन् । असोज २६ गते फूलपातीदेखि बन्द भएका सरकारी कार्यालयहरु टिकाको पर्सीपल्टबाट खुलेका हुन् ।
दसैँको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा पनि बन्द भएका सरकारी कार्यालयहरु आइतबारबाट खुलेका छन् । दसैँ मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ ।
काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास हुन थालेको छ ।
काठमाडौं उपत्यकामा शनिबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
आइतबार टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।
प्रतिक्रिया