चितवनः कोरोना रोकथामका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेकाे छ। जिल्लाका अस्पतालहरूमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १६ जना सङक्रमित भएका हुन्। यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी पनि ७ जना सङ्क्रमित भएको उनले जानकारी दिइन्।
सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी हाल अइसोलेसनमा रहेका छन्। उनीहरू मध्ये कतिपय सञ्चाे भएर घर फर्की सकेका छन्।
कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ। जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको निधन भईसकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको निधन हुने गरेकाे छ। ती मध्ये अधिकांश बाहिरी जिल्लाका छन्।
प्रतिक्रिया