कास्कीः जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएकाे भन्दै संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेको छ। मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित कर्म गर्ने सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताएका छन्।
पौडेलले भने, “हिन्दू धर्मसंस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन्। पत्रकार र स्वास्थ्यकर्मीलगायतले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरूले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो।”
यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै उनले चिन्तासमेत व्यक्त गरे। मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा कोभिड –१९ को जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिए।
विश्व हिन्दू महासंघका अध्यक्ष पार्वती पौडेलले वर्तमान अवस्थाका कारण हिन्दू धर्मसंस्कारअनुसार गरिने विधि हुन नपाएको गुनासो व्यक्त गरे। “अहिलेको कठिन अवस्थामा हाम्रा धर्म संस्कारहरू पनि मासिँदै छन्। स्वास्थ्य पहिलो प्राथमिकता हो, सँगसँगै स्वास्थ्य सतर्कतासहित गर्न मिल्ने सांस्कारिक कर्म गर्न प्रशासनले रोक्नुहुँदैन।”
परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने तथा कोरोनाका कारण निधन भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उनले जोड दिए।
प्रतिक्रिया