काठमाडाैंः उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू हुने भनिएसँगै उपत्यका छाेड्ने यात्रुकाे संख्या अत्याधिक बढेकाले नागढुंगा नाकामा चर्काे सवारी जाम रहेकाे छ। ट्राफिक महाशाखाकाअनुसार गएराति उपत्यकाबाट बाहिरिने सवारीकाे जाम कलंकीदेखि धादिङसम्म नै रहेको थियो।
महाशाखाका प्रवक्ता तथा एसपी श्यामकृष्ण अधिकारीले मर्यादा न्यूजलाई दिएकाे जानकारीअनुसार गएरातिदेखिकाे जाम खुल्न अझै एक दुई घण्टा लाग्ने छ। काठमाडाैं उपत्यकाबाट बाहिरिने मालवाहक सवारीका कारण केही यात्रुवाहक सवारीले अझै उपत्यका छाेड्न पाएका छैनन् भने काठमाडाैं उपत्यका भित्रिने सवारीकाे पनि लाम नाैविसेसम्मै रहेकाे छ।
यस्तै आज बिहान ६ बजेबाट निषेधाज्ञा कार्यान्वयनमा आए पनि जाममा फसेका यात्रु र सवारीलाई ससम्मान काठमाडाैं उपत्यका प्रवेश गर्न दिइने ट्राफिक महाशाखाले जनाएकाे छ। एसपी श्यामकृष्ण अधिकारी भन्छन्-'रातिदेखि आउनुभएका प्यासेन्जर हुनुहुन्छ, उहाँहरूलाई राेक्न मिल्दैन, अरू गाडीलाई खानीखाेलाबाटै फर्काएका छाैं।'
यस्तै आज उपत्यकाकाे ४० ठाउँमा सवारी चेकजाँच पनि भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया