लमजुङः गण्डकी प्रदेशकाे लमजुङमा बुधबार पटकपटक भूकम्प गएकाे छ। बिहान ५ः४२ मा पहिलाे पटक भूकम्प गएयता पछिल्लाे २४ घण्टामा ८६ पटक भूकम्पकाे धक्का महसुस गरिएकाे छ।
मर्स्याङदी गाउँपालिकास्थित भुलभुलेमा केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ वटा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ। चारभन्दा माथि बुधबार बिहान ५ः४२ मा ५.८, बिहान ८ः१६ मा ४, बिहानै ८ः१७ मा ४.१, त्यसकाे केही मिनेटमै ८ः२६ मा ५.३, बुधबार राति ९ः२३ मा ४ र राति १०ः३९ मा ४.५ रिक्टर स्केललको भूकम्प गएको छ।
केन्द्रका अनुसार आज बिहान ५ः५१ मा ३.२ रिक्टर स्केलको भूकम्प गएको हाे।
पटकपटक भूकम्प जाँदा जिल्लाबासी त्रसित भइरहेका छन्। भूकम्पकाे डरले कतिपय स्थानीय रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे। राति वर्षा भएकाले थप समस्या भएको स्थानीयवासीको भनाइँ छ।
जिल्लामा भूकम्पबाट ६ जना घाइते भए भने दुई सय घरमा क्षति पुगेकाे छ।
प्रतिक्रिया