झापाः दैनिक सयौंको आवतजावत भइरहने पूर्वी नाका काँकडभिट्टामा कोभिड–१९ का शङ्कास्पदलाई राख्ने होल्डिङ सेन्टरको उचित व्यवस्था नहुँदा संक्रमण फैलिन सक्ने जाेखिम बढेकाे छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ।
स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको प्रजिअ तिम्सिनाले बताए। भारतमा कोरोना भाइरसको सङ्क्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरूका कारण नाकामा भीड लाग्न थालेको छ। हाल नेपाल प्रवेश गर्नेलाई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ। मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरपालिकाको मात्र नभएर प्रदेश र सङ्घीय सरकारको सरोकारको विषय भएको बताउँदै जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए।
भारतबाट आउनेकाे एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पुर्याउने गरिएको पनि उनले बताए। गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। पछि विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो।
नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर निर्माण गरिदिएको छ। साे सेन्टरमा २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष ललित तामाङले जानकारी दिए। उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टिन र कोभिड अस्पतालसमेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए।
जिल्लामा हालसम्म चार हजार आठ सय १९ जना संक्रमित भइसकेका छन् भने चार हजार पाँच सय १९ संक्रमणमुक्त भएका छन्। हाल आइसोलेसनमा एक सय ६९ जना रहेका छन्। यस्तै हालसम्म एक सय ३१ जनाकाे काेराेना संक्रमणका कारण निधन भइसकेकाे छ।
प्रतिक्रिया