काठमाडाैंः सरकारले काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा राजधानी छाेड्ने यात्रुको भीडभाड बढेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि उपत्यकामा एक साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो।
यसअघि यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्।
यसका साथै लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन्। बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे। नयाँ बसपार्क सञ्चालन गर्दै आएकाे ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन्। नयाँ बसपार्कमा दैनिक आठ सयदेखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन्।
प्रतिक्रिया