सुर्खेत- कर्णाली सरकारले प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व भएको आन्दोलनमा ज्यान गुमाएका चार शहीदको सम्झनामा पार्क निर्माणको योजना अघि बढाएको हो।
वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा निर्देशनालयले सुर्खेतको वीरेन्द्रनगर ४ स्थित भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।
अभियान निर्माण सेवाले पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण सम्पन्न भएको जनाएको छ। दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ। वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने जानकारी दिए।
पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए। ‘शहीदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ, पार्क बनेसँगै घुमफिर गर्न आउनेको सङ्ख्या धेरै छ’, उनले भने, ‘पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो÷सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु छ।’
सुर्खेतका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा चिन्ने गरिएको छ।
प्रतिक्रिया