काठमाण्डू, यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो खेलमा हङकङको सामना गर्दैछ ।
नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो ।
नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ । उता हङकङ भने पहिलो जितको खोजीमा छ ।
उसले पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो । हङकङको टिम बिहीबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा छ ।
जारी प्रतियोगितामा हङकङलाई कमजोर टिमको रूपमा हेरिएको छ । ऊ पहिलो खेलमा अफगानिस्तानसँग ३६.
२ ओभरमा ७० रनमै अलआउट भयो । हङकङ नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।
यता उपाधि दाबेदार नेपाल हङकङविरुद्ध फराकिलो जीत निकाल्ने योजनामा छ ।
यूएईविरुद्ध डकवर्थ लुइस पद्धतिअनुसार रोमाञ्चक जीत निकालेको नेपालले ४० ओभरमा झारिएको उक्त म्याचमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो, जहाँ कप्तान नरेन भट्टले ७५ बलमा ६७ रनको पारी खेले ।
बलिङमा अलराउन्डर सन्तोष यादवले ८ ओभरमा २३ रन दिएर सर्वाधिक दुई विकेट लिए ।
दोस्रो खेलमा ओमानविरुद्ध नेपालले बलिङरब्याटिमै सानदार प्रदर्शन गर्यो । त्यस खेलमा ओमानलाई नेपालले ३८ ओभरमा १ सय १७ रनमै समेट्यो ।
ओमानलाई सस्तैमा अलआउट गर्न नेपाली स्पिनर युवराज खत्रीले घातक बलिङ गरे ।
उनले ७ ओभरमा १५ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए । ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितमा ओपनर निरजकुमार यादवले ३१ बलमा सर्वाधिक ४६ रन जोडे ।
नेपाल तेस्रो खेलमा पनि सानदार अलराउन्ड प्रदर्शन गरेर अपराजय यात्रा जारी राख्ने सोचमा छ ।
हङकङसँग नेपाल यू–१९ ले साढे २ महिनाको अन्तरालमा खेल्न लागेको हो ।
गत डिसेम्बरमा मूलपानी मैदानमा भएको हङकङसँगको तीनको खेलको सिरिज नेपालले ३–० ले क्लिन स्विप गरेको थियो ।
त्यस सिरिजमा नेपालले तीनवटै खेलमा एकतर्फी जीत निकालेको थियो । नेपाल त्यो नतिजा बिहीबार पनि दोहोर्याउन चाहन्छ ।
विश्वकप छनोटमा नेपाललाई त्रास भनेको अफगानिस्तानको हो । नेपाल र अफगानिस्तानबीचको बहुप्रतिक्षित खेल १९ अप्रिलमा हुनेछ ।
अहिलेसम्म टिमहरूको प्रदर्शन हेर्दा नेपाल र अफगानिस्तानबीचको विजेता टोलीले नै आउँदो वर्षको यू–१९ विश्वकपको टिकट काट्ने देखिन्छ ।
प्रतिक्रिया