काठमाडौं: जारी त्रिदेशीय टी ट्वेन्टी कप क्रिकेटमा नेपालले नेदरल्याण्डसलाई २०७ रनको विजयी लक्ष्य प्रदान गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले कुल २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। कुशलले ४६ बलमा ६२ रन प्रहार गरे भने दिपेन्द्रले ३० बलमा ६० रनको शानदार पारी खेले। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रनको पारी खेले। अघिल्लो खेलमा अर्धशतक बनाएका आरिफ शेख यसपटक भने शून्य रनमा आउट भए।
नेपालको ब्याटिङ चम्केको खेलमा बलर सोमपाल कामीले खेलको अन्तिम दुई ओेभरमा २१ रन बनाए। नेपालका सम्पूर्ण ब्याट्सम्यान क्याच आउट हुँदै पेभेलियन फर्किएका थिए। यस्तै नेपालमा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले आजको खेलमा विश्व किर्तिमान कायम गरेका छन्। पहिलो तीन डेब्यु खेलमा लगातार तीन अर्धशतक प्रहार गर्दै कुशलले विश्व किर्तिमान कायम गरेका हुन्। यसअघि विश्व नम्बर एक टी ट्वेन्टी ब्याट्सम्यान डाविड मलानले आफ्नो पहिलो दुई खेलमा अर्धशतक प्रहार गरेका थिए।
प्रतिक्रिया