कालीकोटः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको शान्तिघाट साना जलविद्युत आयोजना अवरुद्ध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि अन्धकारमा रहन बाध्य भएका छन्।
शान्तिघाट जलविद्युत आयोजना हालसम्म मर्मत सम्भार नहुँदा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ।
आयाेजनाकाे मर्मत हुने कुनै आधार नभएकाले विद्युतका पोल र तार हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताए। उनले विद्युत नियमित नहुँदा दैनिक कामकाजमा असर पर्ने गरेको बताए।
कालीकोटका शान्तिघाट जलविद्युत आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युतका पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताए। “नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन”, उनले भने।
कालीकोटको एक मात्र आयोजना शान्तिघाट जलविद्युत आयोजनाको बिग्रेकाले कालिकाेट अन्धकारमा छ। शान्तिघाटकाेभन्दा पनि राष्ट्रिय प्रसारण लाइन नै ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ। गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्र्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताए।
“पहिला गाउँगाउँमा विद्युतका पोल र तार तान्ने काम भइरहेको छ”, उनले भने, “त्यो काम चाँडै सम्पन्न हुन्छ, राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम हुनेछ।”
आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत पहुँचभन्दा टाढा छन्। कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युतकाे पहुँच पुग्न सकेकाे छैन। कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत बत्तीविहीन छन्।
प्रतिक्रिया