गोरखाः जीप दुर्घटना हुँदा दुई जनाकाे निधन भएकाे छ। जिल्लाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हाे।
बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जीप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको निधन भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन्। उनीहरू दुवैलाई थप उपचारका लागि राति नै चितवन पठाएको बताइएकाे छ।
दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल घाइते भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए। घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको छ।
जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ। जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया