काठमाडाैंः विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि नेपाललाई आठ अर्ब ७० करोड रुपैयाँ प्रदान गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच आठ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताएका छन्।
राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपमा समतामुलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताए।
उनले सरकारको महामारीविरुद्धकाे कार्यलाई सहयोग गर्न विश्व बैंक सदैव प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया