सप्तरी : राजविराजमा आज सम्पन्न तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ । राजविराज रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा विवेक यादव कप्तानीको खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई एक रनले पराजित गरी उपाधि जितेको हो । उपाधिसँगै खडक वारियर्सले रु तीन लाख हात पारेको छ भने रुपनी राईडर्सले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।
बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रनमा सीमित भयो । रुपनी राइडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए । खडकको बलिङ्गमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिनुभयो भने भुलावन सहनीले २ र पवन सर्राफले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ्ग रोजेको खडकले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १४६ रन बनाएको थियो । खडकका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए भने अर्का ओपनर अनिल शाहले २९ रन बनाए । कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रन जोडे । रुपनीको बलिङ्गमा अनिल यादवले सर्वाधिक ३ विकेट लिए । सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए ।
प्रतिक्रिया