काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार निर्वाचन आयोग पुगेर दल र चुनाव चिह्नकाे आधिकारिकता दाबी पेस गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल एवं साे समूहका अन्य नेता आयोग पुगि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूहरूकाे दाबी पेस गरेका हुन् ।
आयाेगमा पत्रकारहरूसँग बाेल्दै वरिष्ठ नेता खनालले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको करिब ७० प्रतिशत सदस्य आफ्नाे समूहमा रहेको भन्दै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।
वरिष्ठ नेता खनाल भन्छन्- ‘पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो । दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन। बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन।’
प्रतिक्रिया