बाजुरा : बिहीबार रातिदेखि शुरु भएको भारी हिमपातका कारण बाजुरामा अत्याधिक चिसो बढेको छ। साथै यहाँको जनजीवन कष्टकर भएको छ। तर बाक्लो हिमपातका कारण किसान उत्साहित र खुुसी भएका छन्। व्यापारी भने चिन्तित छन्।
समयमै हिमपात र वर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए। मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ। बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि किसान खुसी भएका हुन्।
लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्न थालेका थिए। 'यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ”, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, 'एक्कासि वर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ।' हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुसी भएको उनले बताए।
हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित छन्। भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारीलाई चिन्ता छ। बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुुनेमा व्यापरी चिन्तित छन्।
अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन्। एक्कासि बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।
निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन। चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो। बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो। हिमपात नहुँदा धुलो र धुवाँका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो।
बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ।
प्रतिक्रिया