चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको छ ।
कार्यालयले आइतबार चितवनका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा अद्यावधिकको काम सुरु भएको जनाएको हो । मतदाता नामावली अद्यावधिक गर्नका लागि सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए ।
उनका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ को नाम दर्ता भएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ ।
विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ मतदाता थपिएको अधिकारीले बताए । सो निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता रहेका थिए । थपिएका मतदाताको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक रहेको अधिकारीको भनाइ छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, राष्ट्रिय जनता पार्टीका प्रेमकुमार श्रेष्ठ, नेकपा मालेका पार्वती महतो, राष्ट्रिय जनमोर्चाका डम्बर पुरीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया