काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्काे नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो ।
निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरूदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रू ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने सम्भावना छ ।
निगमले हाल दैनिक रू साढे ६ करोड नोक्सानी व्यहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण नोक्सानी हुने अवस्था देखिएको हो ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सोमबार पठाएको मूल्यसूचीअनुसार फेब्रुअरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रूपैयाँ ६९ पैसा, डिजेलको ५२ रूपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रूपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रूपैयाँ पाँच पैसा तिर्नुपर्छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू एक हजार १२९ रूपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ ।
आइओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ । ती सबै कर जोडेर निगमलाई पेट्रोलमा एक सय १६ रूपैयाँ ८० पैसा पर्न आउँछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रूपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रूपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रूपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर रू एक हजार ६ सय ७५ रूपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू ११०, डिजेल र मट्टितेल रू ९३, आन्तरिक हवाई इन्धन रू ६५ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०।८६८ अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर रू एक हजार तीन सय ७५ तोकिएको छ ।
निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रूपैयाँ ८० पैसा, डिजेलमा चार रूपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ । मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रूपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रू २ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रूपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर तीन सय १७ रूपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ ।
चालु १५ दिनमा निगमले कूल ३० हजार किलोलिटर पेट्रोल खपत हुने अनुमान गरेको छ । यस आधारमा पेट्रोलको बिक्रीबाट मात्रै कूल रू २० करोड ३९ लाख, ९५ हजार किलोलिटर डिजेल बिक्री हुँदा रू ४४ करोड ३५ लाख तथा १४ लाख ३६ हजार एलपी ग्यास सिलिण्डर बिक्री हुँदा कुल नोक्सान ४५ करोड ५६ लाख हुने अनुमान गरिएको छ ।
एक हजार तीन सय ५० किलोलिटर मट्टिलेल बिक्रीबाट यसबाट सो अवधिमा रू दुई करोड ४४ लाख नाफा हुने अनुमान गरको छ । त्यस्तै, एक हजार तीन सय ५० किलोलिटर आन्तरिक हवाई इन्धनको बिक्रीबाट रू ३२ लाख तथा एक हजार ६ सय ४ किलोलिटर अन्तर्राष्टिय हवाई इन्धन बिक्री गर्दा रू नौ करोड ८० लाख नाफा हुने निगमले जनाएको छ ।
मूल्य समायोजन कहिले
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको छ । कच्चा तेलको भाउ प्रतिब्यारेल ५८.८५ डलरमा अन्तिम कारोवार भइरहेको छ । कोभिड–१९ महामारीसँगै विश्वभर लकडाउन हुँदा कच्चा तेलको मूल्य २० डलरभन्दा कममा झरिसकेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पहिलेभन्दा तेब्बर भइसकेको छ । यस बीचमा निगमले रू ९६ सम्म झरेको पेट्रोलको मूल्य रू एक सय १० रूपैयाँसम्म पुर्याएको छ ।
मूल्य सामायोजन गर्न नसक्दा घाटा चुलिँदै गएको निगमका अधिकारीको भनाइ छ । “सरकारले अहिले मूल्य समायोजना नगरौँ भनेपछि हामीले रोक्यौँ, तर, यसले घाटा चुलिँदै गएको छ । पन्ध्र दिनमै एक अर्बको हाराहारीमा नोक्सान हुन थाल्यो भने त निगमले धान्न सक्दैन”, निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने ।
अङ्ग्रेजी महिनाको प्रत्येक १५ दिनमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य सामायोजन गर्न नसकेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र आइओसीले समेत बढेको मूल्यसूची पठाउँदै गर्दा निगममाथि मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको छ ।
प्रतिक्रिया