लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहील र सूर्यविनायकमा 

Maryada News 2021-03-02 19:24:27
राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहील र सूर्यविनायकमा 

काठमाडौँ : राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहील शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डंगोल र  संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष डंगोलले सो क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहीलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए ।

संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमश: बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाई थियो ।

सो अवसरमा संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, चाबहील शाखाका प्रमुख लक्ष्मीकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाबहील शाखाबाट बीमा गर्नेहरुलाई बीमालेख हस्तान्तरण गरिएको थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा संस्थानका अध्यक्ष कँडेल, प्रशासक पाठक, संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, सूर्यविनायक शाखा प्रमुख दिलकुमार लामालगायतको उपस्थिति रहेको थियो । संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुन लागेको संस्थानले जनाएको छ । यो सँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्