एजेन्सी : सैन्य ‘कु’ विरुद्ध म्यानमारमा जारी प्रदर्शन दबाउन प्रहरीले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ। अन्य ३० जना प्रदर्शनकारी घाइते भएको संयुक्त राष्ट्रसंघका मानवअधिकारकर्मीले जनाएका छन्। सेनाले ‘कू’ गरेपछि म्यानमारमा लगातार जनप्रदर्शन हुँदैआएको छ।
पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै गएपछि सेनाले प्रदर्शन दबाउन बल प्रयोग गर्न थालेको छ। नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदैआएको छ। म्यानमारको ठूला सहर रंगुन,दाबाई, मन्डलेसहित विभिन्न सहरमा हरेक दिन विशाल जनप्रदर्शन भइरहेकाे छ।
जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ। प्रदर्शनकारीहरुमाथि सेना र प्रहरीले व्यापक रुपमा रबरका गोली प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेकाे छ। जसले गर्दा केही प्रदर्शनकारीहरु गम्भीर घाइते बनेको स्थानीय मिडियाले जनाएका छन्।
म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो। साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ।
प्रतिक्रिया