धनुषाः वडाध्यक्षले नेतृत्व गरेकाे पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छिन्। धनुषाको औरही गाउँपालिका–२ देउरीकी ३६ वर्षीया बिनितादेवी यादवले आत्महत्या गरेकी हुन्।
गत बिहीबार गाउँकै खेतमा साग टिपेको विषयमा विवाद भएपछि बिनितादेवी सहित सुमित्रा, बबिताले पञ्चायत डाकेका थिए। उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएर बाँधेर कुटपिट गरेका थिए।
त्यसपछि वडा नं.२ का वडाध्यक्ष अमित यादवलाई गुहारेर शुक्रबार बिहान बाेलाइएकाे पञ्चायतले उल्टै कारवाही स्वरुप बिनिता, सुमित्रा र बबिता यादवलाई जनही पाँच हजार रुपैयाँ जरिवाना ताेक्याे।
शुक्रबार डाकिएकाे पञ्चायतले शुक्रबारै जरिवाना तिर्न दबाब दिएपछि बिनिताले घर पुगेर पासो लगाएर आत्महत्या गरेको स्थानीयवासीले जनाएका छन्। स्थानीयका अनुसार पीडित महिलाहरूले तत्काल नसक्ने र भाेलि कतैबाट उपाय गरेर तिर्ने भनेका थिए। तर वडाध्यक्ष यादवले प्रहरी बोलाएर समात्न लगाउने भन्दै धम्काएका थिए।
मृतक महिलाको श्रीमान् विदेशमा छन्। उनको दुई छोराछोरी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाकाे विषयमा अनुसन्धान भइरहेको बताएकाे छ।
प्रतिक्रिया