एजेन्सी : अर्मेनियाका राष्ट्रपति अर्मेन सर्गस्यानले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई अस्वीकार गरेका छन्। सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री पाशिन्यानको सिफारिसलाई राष्ट्रपति सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन्।
देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगरेका राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन्। सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिएको राष्ट्रपति निकटस्थहरुको भनाई छ।
प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए। सेनाप्रमुख सहितका वरिष्ट सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए। तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई ‘सैन्य कु’ को संज्ञा दिएका थिए।
सेनाले सरकारको अपेक्षा र हितभन्दा विपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको प्रधानमन्त्रीको आरोप छ।
प्रतिक्रिया