काठमाण्डू, पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी त्याग गरेपछि पहिलोपटक यति धेरै विवादित बनेका छन् ।
जनताको नासो जनतालाई नै सुम्पिएको भावुक अभिव्यक्ति दिएर राजगद्दी त्याग्दा त्यतिबेला उनीप्रति धेरैको सहानुभूति पनि देखिएको थियो ।
त्यसपछि उहाँ लामो समय निर्मल निवास र नागार्जुनमा नै आराम गरेर बसे । शुरूका दिनहरूमा उनी बाहिर निस्कँदा १०–२० जना मान्छेहरू मात्रै उनको स्वागतमा देखिन्थे ।
तर, जब गणतन्त्र सञ्चालनमा गम्भीर त्रुटिहरू देखिन थाले, गणतन्त्रवादी दलहरूले शासन सञ्चालमा कुशासन निम्ताउन थाले र भ्रष्टाचारलाई बढावा दिए त्यसपछि धेरै मानिसमा निराशा छाउन थाल्यो ।
त्यसैको फाइदा उठाउँदै पूर्व राजा ज्ञानेन्द्रले धार्मिक कार्यक्रमको बहानामा देश दौडाहा अभियान थाले ।
गणतन्त्रवादीहरूको शासकीय असक्षमताका कारण नागरिकमा देखिएको निराशालाई ‘क्यास’ गर्ने योजनाका साथ उनले देश दौडाहा अभियान जारी राख्दै आइरहे ।
साथै उनले बेलाबेलामा छिमेकी मित्रराष्ट्र भारतमा समेत गएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने योजनामा लाग्दै आए ।
उनले पछिल्लोपटक पोखराबाट भिडियो सन्देश सार्वजनिक गर्दै राजतन्त्र फर्काउन जनतासँग अपिल गरे । त्यतिबेलासम्म उनीप्रति धेरै मानिसको आकर्षण देखिएकै थियो ।
दुई साताअघि उनी पोखराबाट काठमाडौं आउने क्रममा एयरपोर्टदेखि निर्मल निवाससम्म जाँदा उनको स्वागतमा हजारौं नागरिकहरू सहभागी भएपछि पूर्व राजा ज्ञानेन्द्र अझै उत्साहित भए ।
त्यसयता पनि उनीप्रतिको आकर्षणमा कमी आएको थिएन तर जब शुक्रवार पुर्व राजाकै योजना अनुसार काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन हिंसात्मक, लुटपाट र आगजनीमा परिणत भयो त्यसपछि भने ज्ञानेन्द्र शाह निकै बद्नाम र कमजोर बन्न पुगेका छन् ।
यतिखेर उनको चौतर्फी आलोचना भइरहेको छ र उनको आकर्षणको ग्राफ ह्वात्तै घटेको छ । स्वतन्त्र विश्लेषकहरूले समेत पूर्व राजाले शुक्रवारको आन्दोलन गर्दा बनाएका कमान्डरका कारण उनको क्रेज एकाएक धुलिसात भएको बताएका छन् ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले वास्तवमा राजसंस्थाका पक्षमा जनलहर पैदा भइरहेको अवस्थामा शुक्रवारको हिंसात्मक प्रदर्शनले एक झड्कामा नै समाप्त पारिदिएको टिप्पणी गरे ।
त्रिपाठीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्– ‘सुँगुरलाई सुनको भारी बोकाएर स्वर्ग पठाएपनि ऊ पुग्ने नर्कमा नै हो, नर्कमा नै रमाउँछ, राजाको नाममा आफ्नो महत्वकांक्ष पूरा गर्न खोज्नेहरूबाट राजाको शालीनता निमेषभरमै स्वाहा ।’ त्रिपाठीको संकेत आन्दोलनका कथित कमान्डर दुर्गा प्रसाईंप्रति नै थियो ।
चैत्र १५ मा पूर्व राजाको पक्षमा विशाल प्रदर्शन र कार्यक्रम गर्ने भन्दै केही दिनदेखि राजावादीहरू निकै हौसिँदै आएका थिए ।
राप्रपाले समेत कार्यक्रमलाई शान्तिपूर्ण र सभ्य बनाउने निर्णय गरेको थियो । शुक्रवारको कार्यक्रम राप्रपा र त्यसका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भएको भए शान्तिपूर्ण हुने र राजाको पक्षमा राम्रो सन्देश जान सक्ने विश्वास धेरैले गरेका थिए ।
तर, एकाएक पुर्व राजा ज्ञानेन्द्रले राप्रपा र सो पार्टीका इमान्दार अध्यक्ष लिङ्देनलाई ‘बाइपास’ गर्दै आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईं बनाएपछि त्यहीँबाट उहाँको अधोगति शुरू भएको विश्लेषण गरिएको छ ।
प्रसाईले कार्यक्रमस्थलमा गरेको हर्कत तथा आफैं गाडी चलाएर सुरक्षाकर्मीहरूलाई किच्न खोज्ने प्रयासले प्रदर्शनलाई उत्तेजित बनाएर हिंसा भड्काउने योजना बुनेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
कमान्डर भएलगत्तै प्रसाईंले शुक्रवार जे पनि हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई सोहीअनुसार परिचालन हुन निर्देशन दिँदै आएका थिए ।
उनको योजना अनुसार निजी घरमा आगजनी, व्यापारिक प्रतिष्ठानमा लुटपाट, मिडिया हाउसमा आक्रमण, अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनीको प्रयास, सरकारी कार्यालयमा आगजानीलगायतका हिंसात्मक कार्य भएका थिए ।
विश्लेषकहरूका अनुसार प्रसाईं स्वार्थको रोटी सेक्न अत्यन्तै सिपालु तर राजनीतिक संस्कार र चेतना शून्य भएका असभ्य, छुद्र र अजासु स्वभावका छन् ।
निकै खारिएका अनुभवी तथा राप्रपालाई नयाँ उचाइमा पु¥याउन सफल अध्यक्ष लिङ्देनलाई पाखा लगाउदा पूर्व राजाले एकाएक बद्नामको भारी बोक्नु परेको हो ।
शुक्रवारदेखि लगातार उनको देशव्यापी आलोचना हुनुका साथै पूर्व राजामाथि कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।
उनले बनाउनुभएका कमान्डर प्रसाईं आन्दोलन छोडेर भूमिगत भएका छन् ।
प्रतिक्रिया