एजेन्सी, रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लगातार दोस्रो जीत निकालेको छ ।
शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्स (सीएसके) लाई ५० रनले हराएको हो ।
बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।
रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । महेन्द्रसिंह धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।
बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
पाटिदारले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए । फिल साल्टले ३१, विराट कोहलीले ३१ तथा डेभिडले अविजित २२ रन बनाएका थिए ।
चेन्नईका नूर अहमदले ३ विकेट लिँदा मथिसा पाथिरानाले २ तथा रविचन्द्रन आश्विन र खलील अहमदले १ विकेट लिए ।
आइपिएलमा आज गुजरात टाइटन्स् र मुम्बई इन्डियन्स भिड्दैछन् । खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुवै टीमले समान एक खेल खेलेका छन् । सो खेलमा उनीहरु पराजित भएका छन् ।
प्रतिक्रिया