काठमाण्डू, होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा हुँदै छ ।
महासंघले कलंकीमा पत्रकार सम्मेलनको आयोजना गरी साधरणसभा हुनेबारे जानकारी गराएको हो ।
महासंघका अनुसार साधारणसभा गौशाला पिंगलास्थानमा रहेको होटल क्रिष्टलमा हुने छ ।
साधारणसभामा प्रमुख अतिथि रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, त्यस्तै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनोदप्रकाश सिंह, काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठलगायत उपस्थिति रहने छ ।
साधारणसभामा करिब ३ सय प्रतिनिधिको सहभागितन रहने आयोजकले जनाएको छ । आज महासंघको सचिवालय र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।
पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरुको महासंघका अध्यक्ष दिनेशकुमार चुकेलगायतकले जवाफ दिएका थिए ।
अध्यक्ष चुकेले होटल व्यावसायीमाथि लाग्ने गरेका आरोपबारे पनि आफूलाई जानकारी भएको बताउँदै थपे ‘ हामीमाथि केही आरोप लागेका छन्, त्यसलाई कम पार्ने र सकेसम्म पूरै व्यवस्थापन गर्न हामी लागिरहेका छौं ।’
पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभएको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिए ।
यसैगरी पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्ने सम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम रहेको महासंघका महासचिव टिआर भण्डारी (शंकर) ले जानकारी दिए ।
महासचिव भण्डारीले साधारणसभामा छलफल भएका विषयलाई लिएर सम्बन्धित निकायसम्म जाने र समाधानको पहल गरिने बताए ।
महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् ।
होटल व्यवसायीहरू पारिवारिक रूपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएको महासंघले जनाएको छ ।
नेपालको अर्थतन्त्रमा होटल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याइरहेको भएपनि यस क्षेत्रले राखेका मागहरूको सम्बोधन गर्न भनें सरकार तयार नभएको अध्यक्ष चुकेले बताए ।
होटल व्यवसायी महासंघ देशैभरि छरिएर रहेका साना, मझौला र ठूला होटल, रेष्टुरेण्ट, व्याड्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफेलगायत फुड एण्ड अकोमोडेसन सेवाको क्षेत्रमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संस्था हो ।
२०६८ सालमा महासंघको स्थापना भएको हो । साधारणसभाको सह–आयोजकको रुपमा जिल्ला होटल व्यवसायी संघ काठमाडौं रहेको छ ।
प्रतिक्रिया