लमजुङः दूधपोखरी गाउँपालिकाले जिल्लाका ५६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ५६ जना किसानलाई खेतबारी जोत्ने ट्र्याक्टर वितरण गरेको हाे।
गाउँपालिकाले किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको दूधपोखरी गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द घिमिरेले बताए। यसका लागि चालू आर्थिक वर्षमा रू १९ लाख बजेट विनियोजन गरेको जानकारी दिए।
गाउँपालिकाले प्रतिकिसान रू ३८ हजार आठ सय मूल्य बराबरको हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो। पछिल्लो समय युवा पुस्ता कामको सिलसिलामा बाहिरिएको र गोरुसमेत पाउन गाह्रो भएको अवस्थामा आधुनिक हाते ट्र्याक्टर पाएसँगै किसानले समयको सदुपयोग हुने भन्दै खुशी व्यक्त गरेका छन्।
प्रतिक्रिया