काठमाण्डू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।
मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं, कार्यकारी निर्देशक मल्लले भने ।
हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आएको छ ।
उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्षको वर्ष पुस महिनासम्म चार सय ८० बालबालिकाले गङ्गालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो, मन्त्री पौडेलले भन्नुभयो, यसका लागि थप स्रोतको खोजी गरिनेछ ।
सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिम्मेवावारी तोकेको छ
ूस्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ, सञ्चालक समिति सदस्य सापकोटाले भन्नुभयो, सहकार्य गर्ने गरी गृहकार्य सुरु गरेका छौं ।
नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।
प्रतिक्रिया