काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरिदिएपछि नेपालको आन्तरिक राजनीतिमा छिमेकी मुलुकको चासो र सक्रियता बढेको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छी अहिले नेपालको राजनीतिमा सक्रिय भएका हुन्। चीन सत्तारुढ नेकपाको दुवै समूहलाई मिलाएर सत्तामा ल्याउने कसरतमा देखिन्छ भने भारतको चाहाना अर्कै छ।
आ–आफ्नो देशको इच्छाअनुसार नेपालको आन्तरिक राजनीतिलाई प्रभावमा राख्न उनीहरु अहिले उच्चस्तरिय भेटघाटमा व्यस्त रहेका छन्। त्यसैक्रममा चिनियाँ राजदूत यान्छी र भारतीय राजदूत क्वात्राले बिहीबार एकैदिन फरक–फरक समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले गरेको भेटवारे जानकारी नभए पनि सत्ता समिकरणकै विषयमा छलफल भएको हुनसक्ने धेरैको अनुमान छ। नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।
भारतीय राजदूत क्वात्राले बुधबार काँग्रेस उपसभापति विमलेन्द्र निधिलगायतका प्रभावशाली नेताहरूसँग भेट गरेका थिए। क्वात्राले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अन्य नेतासँग पनि भेट वार्ता गरेका थिए।
त्यसअघि चिनियाँ राजदूत यान्छीले ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेकी थिइन्। यस्तो समयमा दुई मुलुकका राजदूतहरु भेटमा सक्रिय हुन्छन्। कतिपय अवस्थामा पश्चिमा राजदूत पनि भेटमा सक्रिय रहने र आपसी छलफल पनि गर्ने गर्छन्।
तर औपचारिकरुपमा चीनले प्रतिनिधि सभा पुनर्स्थापनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन भने भारतले दुबै नेपालको आन्तरिक मामिला भनेको छ।
प्रतिक्रिया