काठमाडाैंः नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजबाट शुरु हुँदैछ। बुधबार र बिहीबार दुई दिन ललितपुरको होटल हेरिटेज गार्डेनमा कार्यकर्ता भेला बोलाइएको छ।
भेलाका लागि जिल्लास्तरबाट मंगलबारदेखि नै नेताहरू काठमाडौं आइसकेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफू इतरका समूहलाई पदमुक्त गरेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो। यसअघि ओली र नेपाल पक्षबीच भएकाे छलफलमासमेत नेपाल पक्षले पदाधिकारी खारेजीकाे निर्णय फिर्ता लिन माग गरेकाे थियाे।
भेलाका लागि भीम आचार्यले प्रदेश १, घनश्याम भुसालले प्रदेश २, अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश, सुरेन्द्र पाण्डेले गण्डकी प्रदेश, युवराज ज्ञवालीले लुम्बिनी र कर्णाली प्रदेश तथा भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीका नाममा कुनै पनि अवैधानिक भेला नगर्न निर्देशन दिएका थिए। यद्यपि विज्ञप्ति अवज्ञा गर्दै खनाल नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेकाे हाे।
प्रतिक्रिया