लेटेस्ट न्युज
advertisement1

नाङ्गो राजनीतिको विद्रुप अनुहार: आँखा खोल्ने चलचित्र नाङ्गो गाँउ हेर्ने कि ?

Maryada News 2023-09-17 18:20:47
नाङ्गो राजनीतिको विद्रुप अनुहार: आँखा खोल्ने चलचित्र नाङ्गो गाँउ हेर्ने कि ?

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा नयाँ नेपाली चलचित्रहरू प्रदर्शनरत छन्। विपिन कार्की अभिनित 'एक भागवत, एक गीता' र दयाहाङ राई अभिनित 'नाङ्गो गाउँ' शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आइसकेका छन्। यो बसाइमा भने हामी दीपेन्द्र लामा निर्देशित 'नाङ्गो गाउँ' बारे चर्चा गर्नेछौँ।

गोपी, घामपानी, छ माया छपक्कै जस्ता फिल्महरूमार्फत गाउँका कथा भन्दै आइरहेका निर्देशक लामाले 'नाङ्गो गाउँमा पनि काभ्रेपलान्चोकको एउटा गाउँ'मा पुगेर नेपाली प्रतिनिधि गाउँकै कथा भनेका छन्। गाउँ-समाजका मुद्दाहरूमाथि कथा भन्नु लामाको विशेषता  मानिँदै आएको छ। लेखकसमेत आफै रहेका निर्देशक लामाले यस फिल्ममा पनि गाउँ-समाजमा हुने राजनीतिक अभ्यासलाई नङ्ग्याएर पारदर्शी बनाउने काम गरेका छन्। यसपालि उनले कस्तो कथा हाले, कस्ता पात्रहरू जन्माए, तिनलाई के कति न्याय गरे? त्यसबारे चर्चा गरौँ।

 

उपेन्द्र सुब्बा निर्देशित 'जारी'मा  खुबै रुचाइएको जोडीलाई नै यहाँ पनि देख्न सकिन्छ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी यहाँ पनि राम्रै जमेको देखिन्छ। यद्यपि, दुई पात्रहरूबीचको सम्बन्ध भने सुन्दर र सौहार्द्र देखिँदादेखिँदै पनि गहिरो भएजस्तो महसुस हुँदैन। न त उनीहरूको वियोगले न त मिलनले दर्शकहरूलाई छुन्छ।

दयाहाङ राईको पात्र पासाङ तामाङ एउटा आदर्शवान शिक्षक हो। भ्रष्ट गाउँपालिका अध्यक्ष जरी लामाविरुद्ध उसले चुनाव लड्ने निर्णय गर्छ। तर, उसको निर्णय साँच्चै नै गाउँसमाजको लागि थियो या त जरी लामालाई हराउने लालचमा थियो यो भने स्पष्ट लाग्दैन। पटकपटक निर्णय फेरबदल भइरहँदा आखिर चुनाव लड्ने पासाङको आफ्नो निर्णय हो या त फेरि गाउँलेले उचाल्दा ऊ उचालिएको मात्र हो? दर्शकले प्रष्ट बुझ्न सक्दैनन्।

त्यसो त पासाङको चरित्र हेर्दा उसलाई आदर्श पात्र कम, मूर्ख पात्र बढी भनिदिन मन लाग्नसक्छ। स्वाभिमानी हुनु स्वाभाविक हो तर के एउटा आदर्श पात्रले मूर्ख हुनु जरुरी नै हुन्छ त? दुनियाँले थाहा पाएको कुरा, गाउँभरिका बच्चाबच्चाले थाहा पाइरहेको भनिएको कुरा पनि पासाङलाई भने थाहा नहुनुलाई पत्याउन दर्शकले सम्झौता गर्नुपर्ने हुन्छ। एउटा स्वाभिमानी पात्रले कतिसम्म सहन सक्छ? कहिलेसम्म माफी दिइरहन सक्छ? के यसको कुनै हद नै हुँदैन त?

फिल्ममा दयाहाङ राईको इन्ट्रीमा भन्दा बढी ताली बज्छ कार्मको इन्ट्रीमा। बाघको प्रतिवादमा सिंह मैदानमा उत्रिएजस्तै गरी कार्मको पात्र शंकरको कथाभित्र प्रवेश हुन्छ। तर, यस्तो बलियो पात्रलाई लेखकले अन्त्यमा बलि नै दिन्छन्। उसलाई जानै नपर्ने दिशातिर पठाइन्छ। र त्यसपछि पनि फर्काउनै नपर्ने शीर्षकमा फर्काइन्छ। फिल्मको पहिलो हाफमा जति शंकरको उपस्थिति आवश्यक र भव्य लाग्छ, दोस्रो हाफमा उसको अस्तित्व त्यति नै अनावश्यक र फितलो लाग्छ। एउटी स्वतन्त्र, निर्भीक र वफादार प्रेमिकाको प्रेमी उसले आफ्नी प्रेमिका पाउन आफ्नो धर्म किन पो बेचिरहनु आवश्यक छ?

साम्राज्ञीको पात्र रविनाको चरित्र भने फिल्मको सबैभन्दा न्यायिक पात्र हो। रविनाको चरित्रलाई अझै बलियो बनाउन सकिने ठाउँ थियो, तर फिल्ममा सबैभन्दा स्पष्ट पात्र कोही छ भने त्यो रविना नै हो। यसो भन्न सकिन्छ, लेखकले न्याय गर्न सकेको फिल्मका थोरै पात्रमध्येको सबैभन्दा बलियो पात्र उही हो।

मिरुनाको पात्र निमा भने फिल्ममा सबैभन्दा खुम्च्याएकी पात्र हो। निमा एउटा कामकाजी महिला हो। साथै, एक सचेत नागरिक पनि। दाँजेरै हेर्ने हो भने 'ऐँचोपैँचो' मा वर्षा र स्वस्तिमाका पात्रहरू हिँडेजस्तो ऊ चुनाव प्रचारप्रसारमा समेत हिँड्दिन। तर, एउटी नर्स हुँदाहुँदै पनि उसलाई अधिकांश समय भान्छामै देखाइन्छ। त्यसमाथि पनि, ऊ लोग्ने र छोरासँगसँगै खाना खाँदिन। उनीहरूलाई अघाउन दिइसकेपछि बल्ल उसको पालो आउँछ। नारीवादी आँखाबाट हेर्दा फिल्म साम्राज्ञीको पात्र रविनाको लागि जति उदार छ, मिरुनाको पात्र निमाको लागि त्यति नै संकीर्ण पनि छ। कहाँ काठमाडौँमा बसेर बाबुको कमाइमा पढ्ने केटी रविना र कहाँ घर-परिवार सम्हालेर आफ्नो खुट्टामा आफै उभिरहेकी नर्स निमा! आत्मनिर्भरताकै मापन गर्ने हो भने रविनाभन्दा निमा नै ज्यादा बलियो हुँदी हो। तर, किन हो कुन्नि लेखकले निमालाई पटक्कै न्याय नगरेका?

पात्रहरूकै कुरा गर्दागर्दै यो पनि भनिहालूँ, जरी लामा र उनको छोरोको पात्रले पनि सुरुदेखि अन्तिमसम्म स्पष्ट चरित्र पाएका छन्।

पात्र अलमलिएपछि फिल्मको कथा स्वतः अलमलिने भइ नै हाल्यो। फिल्मका डायलगको कुरा गर्नुपर्दा भने कहीँ कहीँ ताली बज्ने गरी पनि बोल्छन् पात्रहरू तर, कतिपय डायलगहरू बनावटी र हास्यास्पद पनि लागिदिन्छन्। तर, फिल्ममा ह्युमर भने राम्रैसँग भेटिन्छन्।

फिल्ममा राखिएका गीतहरू सुन्दर हुँदाहुँदै पनि कबाबमा हड्डी महसुस भइदिन सक्छ। फिल्मको ब्याकग्राउन्ड म्युजिकले तपाईंलाई बाँधिराख्न सक्छ। सिनेम्याटोग्राफी भने दर्शकलाई प्यासिभ लाग्नेछ। मानौँ, क्यामरा आफै पनि त्यस्तो पात्र हो जो शनिबारको छुट्टीमा घर बसेपछि आइतबार बिहान मन नलागी नलागी स्कुल गइरहेछ।

फिल्मको ओपनिङमा निमाको सहयोगमा नुहाइरहेको पासाङ र क्लाइमेक्सतिर एक्लै नुहाइरहेको पासाङ! अनि त्यो पासाङको छोरो कुन्साङका केही डायलग र दृश्य! उसले बाबुप्रति देखाएको त्यो अव्यक्त प्रेम र समर्थनले त तपाईंको आँखालाई मात्र होइन हृदयलाई पनि आह्लादित बनाउनेछ। एकातिर बाबुप्रति आँखा चिम्लिएर विश्वास गर्ने कुन्साङ र अर्कोतिर बाबुप्रति वितृष्णा व्यक्त गर्ने पात्र रविना! कस्तो राम्रो कन्ट्रास्ट! अँ, अनि फिल्मको प्रदर्शन सुरु हुन्छ बाबुको मुख हेर्ने दिनकै भोलिपल्टदेखि। संयोग पनि कस्तो राम्रो!

यस्तै कुराहरूले फिल्मले मनोरञ्जन नै दिँदैन त भन्न सकिँदैन। त्यसो त रोमान्सको विषयवस्तुलाई लिएर दिन खोजिएको मनोरञ्जनले भने नेपाली समाजको युवा पुस्ताले आजको दिनमा यौनलाई कसरी हेर्छ भन्ने पनि देखाएको छ। अनि, सबैथरीका पात्र भेटिनु फिल्मको सुन्दर पक्षमध्येको एक हो।

द्वन्द्वबाट सुरु भएको कथा सुस्त र मन्द हुँदै अन्तिममा सुनसान भइदिन्छ। विद्रोह र क्रान्तिबाट सुरु भएको फिल्मले आखिर पलायन रोज्छ। धारकै कुरा गर्ने हो भने, फिल्मले आफू निश्चित यही धारको हुँ भनी दाबी गर्न सकेको भने छैन। फिल्मले मनोरञ्जन र कलालाई सँगसँगै लैजान खोज्दाखोज्दै पनि सन्तुलन भने मिलाउन नसकेको हो कि भन्ने महसुस हुन्छ।

यो सबका बाबजुद पनि कथा समय सान्दर्भिक छ। भलै, सकिनुपर्ने ठाउँमा नसकिएर अनावश्यक तन्किएझैँ लाग्छ तर फिल्मले सन्देशमा भने समाजले बुझ्नैपर्ने कुरा भनेको छ।

अनि फिल्म हेरिसकेपछि तपाईंको मनमा एउटा प्रश्न रहिरहन्छ-गाउँ-समाजलाई नङ्ग्याउने को हो? जरी लामा? होइन। गाउँ नङ्ग्याउने त तपाईं हो, म हुँ, हामी हौँ। सायद, निर्देशक लामा सोधिरहेछन, 'दर्शक! कति हेरेर मात्र बस्नुहुन्छ? रोक्नुस् त्यो तमासा!'
नेपाल खबरमा श्रीजु सरलको चिरफार

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्