काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा रहेका अन्य न्यायाधीशले पनि सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छन् । न्यायाधीशहरु न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार चुडालले आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गरेका छन् ।
यस्तै, न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेर आदेश जारी गरेको छ । प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेर इजलास गठन गरी पेसी तोकेको भन्दै सर्वोच्चका न्यायाधीशहरु सोमबार बिहान बेग्लै छलफलमा जुटेका थिए।
न्यायाधीशहरुको छलफलका बीच न्यायाधीश चुडालले एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरेका थिए । यसअघि प्रधानन्यायाधीश जबराले मुद्दा नहेर्ने र विवाद समाधान नहुँदासम्म अरु न्यायाधीशले बन्दीका मुद्दा मात्रै हेर्ने सहमति भएको थियो।
उक्त सहमतिअनुसार सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन घोषणा गरेको हप्तादिन पछि इजलासमा फर्किएका थिए । तर, तिहार बिदापछि अदालत खुल्दा सोमबार प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत इजलास गठन गरेपछि न्यायाधीशहरु असन्तुष्ट बनेका थिए ।
असन्तुष्ट न्यायाधीशहरु बीच सोमबार बेग्लै छलफल भएको थियो । छलफलमा जारी आन्दोलनलाई अझै सशक्त बनाउँदै निरन्तरता दिने र बन्दीका मुद्दाको सुनुवाइ गर्ने समझदारी बनेको एक न्यायाधीशले जानकारी दिए ।
छलफलमा बन्दीको मुद्दा सुनुवाइ गर्ने समझदारी बनेपछि सोमबार सुरुमा न्यायाधीश चुडाल इजलामा गएका थिए । चुडालपछि बमकुमार श्रेष्ठ र अन्य न्यायाधीशहरु इजलास गएका थिए ।
प्रतिक्रिया