काठमाडौँ : आईसीसी वुमन्स टी २० विश्वकप एसिया छनोट अघिको ‘वार्मअप’ खेलमा नेपाली महिला टोली विजयी भएको छ । बंगलादेश शिक्षा प्रतिष्ठान(बिकेएसपी)लाई २४ रनले पराजित गरि नेपाली टोली विजयी भएको हो ।
ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कुल ७२ रन बनाएका थियो । नेपालको लागि कविता जोशीले सर्वाधिक २३ रनको योगदान दिइन् ।
ओपनर काजल श्रेष्ठ १२ र सीता राना मगर ७ रनमा आउट भएका थिए । कप्तान रुविना क्षेत्री बेलबासे १६ रनमा अविजित रहिन् । इन्दु बर्मा ३, सरिता मगर २ र कविता कुँवरले १ रन बनाए। बंगलादेशकी दीक्षाले सर्वाधिक ३ विकेट लिइन् ।
जितका लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको बिकेएसपी १७.१ ओभरमा ४८ रनमा अलआउट भयो । उनको ओपनर लिसाले सर्वाधिक २५ रन बनाइन् ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाली स्पिनर संगिता राईले सर्वाधिक ४ विकेट लिइन् । सरस्वती चौधरी, रुविना र सीता र कविता कुँवरले एक एक विकेट लिए ।
नेपाली महिला टोली एक हप्ताको बंगलादेशमा रहनेछ । नेपाली महिला टोलीले थप तीन ‘वार्मअप’ खेलमा खेल्नेछ ।
प्रतिक्रिया