काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण चाँडै टुंगो लाग्ने बताएका छन् । बिहीवार मुख्यमन्त्री राईले प्रदेशको नामकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन् ।
अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताए । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामकरणका लागि पहल नै नगरेको आरोप लगाए ।
उनले प्रदेशको नामकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु-याउन आग्रह गर्ने बताए । मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए ।
उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए । मुख्यमन्त्री राईले केन्द्रीय सरकारसँग ऋण लिएर भएपनि जनहितका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताए ।
उनले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताए । मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरुले भ्रष्टाचार गरेको बताए ।
उनले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै ऐन, कानून बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने पनि बताए ।
प्रतिक्रिया