काठमाडौं : नेकपा (एमाले)ले लगातारको वर्षातका कारण बाढीपहिरोबाट प्रभावितका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै पीडित किसान परिवारलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न यस्तो माग गरेका हुन् ।
‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ।’
मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आमनेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि एमालेले सरकारसँग माग गरेको छ । बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति एमालेले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया