काठमाडौँ : मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । छायानाथ रारा नगरपालिका–७ मा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जानको घटनास्थलमै र चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो।
सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो । मृतकमध्ये १० जनाको सनाखत भएको छ ।
मुगुमा मृत्यु हुनेमा चालक ३५ वर्षीय दानबहादुर रावल, छायानाथ रारा नगरपालिका–७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीय मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन् ।
यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा–१ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन् ।
कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान नखुलेको बाँकी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उपचारका लागि नेपालगञ्ज लगिएका १६ मध्ये १२ जनाको उपचार भइरहेको न्यौपानेले बताए।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, सात जना महिला र १ जना बालक छन् । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ ।
मृतक, घाइते र गाडीबाट हाम फालेर वा पहिले ओर्लिएर बचेकाहरूको संख्या अनुसार गाडीमा ४९ जना सवार रहेको बुझिएको छ ।
यद्यपी प्रहरीले दुर्घटनास्थल भीरमा खोजी गरिरहेको जनाएको छ । शव जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ ।
स्थानीयका अनुसार मोडमा बसको अगाडिको टायर पञ्चर भएर पड्किएको थियो । टायर पड्किएपछि बस पछाडि भीरमा खसेको थियो ।
प्रतिक्रिया