काठमाडौँ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई ‘सबै नागरिकको सरकार हो’ भन्ने प्रत्याभूत गराउने प्रण गरेकी छन् । शनिवार नेकपा (एकीकृत समाजवादी), तनहुँले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भनिन्— ‘यो सरकार सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउँछौँ ।’
मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । ‘भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएका हौँ,’ मन्त्री झाँक्रीले भनिन्, ‘अब आगामी दिनमा पनि सोहीविरुद्ध लड्नेछौँ ।’
आफूहरूसँग धेरै समय नभएको उल्लेख गर्दै मन्त्री झाँक्रीले थपिन्, ‘हामीसँग धेरै समय छैन । त्यसैले जनअपेक्षाअनुरूप काम शुरू गरिहाल्नुपर्ने छ । हामीले यसैगरी नै अघि बढ्ने सोचेका छौँ । त्यसैले प्रत्येक नागरिकलाई देशमा सरकार छ भन्ने प्रत्याभूत गराउनेछौँ । त्यसरी काम गर्नेछौँ ।’
वर्तमान सरकारसँग काम नगरी बस्ने छुट नभएको मन्त्री झाँक्रीको भनाइ थियो । भनिन्— ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।’
प्रतिक्रिया